April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपालमा थप २ सय २४ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा आज १ सय १३ थपिए

धनगढी, साउन १६ (ई-रैवार)

नेपालमा पछिलो २४ घन्टामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ सय २४ जना कोरोना संक्रमित भएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो सँगै नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको जानकारी दिए ।

शुक्रबार थप १ सय ५१ जना कोरोना संक्रमण मुक्त भएका छन । यो सहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन । भने नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ।

सुदूरपश्चिममा फेरी बढ्यो दैनिक संक्रमण, १ सय १३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज १ सय १३ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी आज १ सय १३ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुुसार धुलीखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका तीन जनामा संक्रमण पुष्टि भएको छ ।

यता सेती अस्पतालको प्रयोगशालामा आज मात्रै कैलालीका २३, बझाङका २ र कञ्चनपुरका १ गरी २६ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीका २३ जना मध्ये धनगढीका मात्रै १६ जना छन ।

आज १ सय १३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ५ सय २४ पुगेको छ ।