प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, साउन ८ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सत्तारुढ दल को आन्तरिक विवाद साम्य भएपछि सभापति देउवा र प्रधानमन्त्री ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भेटवार्ता भएको हो ।
उक्त भेटमा सभापति देउवाले वर्तमान राजनीतिक अवस्था, कोरोना र बाढी–पहिरोका विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । उनले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गरे ।
सभापति देउवाले कोरोना भाइरसको परीक्षण पीसिआर विधीबाट मात्रै गर्न आग्रह गर्दै क्वारेन्टाइनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति जनाए ।
कोरोनाले सिर्जना गरेका चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
भेटमा सभापति देउवाले प्रधानमन्त्री ओलीसँग विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्ने कार्यमा तीव्रता दिन पनि आग्रह गरेको छन् । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार भेटमा सभापति देउवाले बाढी र पहिरोबाट प्रभावितहरुको राहत र पुनस्र्थापनाका लागि युद्धस्तरमा कार्य गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।





प्रतिकृया दिनुहोस्