April 18, 2026, Saturday
२०८३ बैशाख ५

धनगढी उपमहानगरको वडा नम्बर १७ लाई आँप गाउँ बनाउने

धनगढी, असार २५ (ई-रैवार)

धनगढी उप–महानगरपालिका वडा नं १७ लाई आँपगाउ बनाइने भएको छ । वडा नं १७ लाई आँप गाउँको पहिचान दिनका लागि काम गर्न थालिएको हो ।

धनगढी उप–महानगरपालिकाले एक गाउँ एक उत्पादन भन्ने नीति लिए अनुरुप वडा नम्बर १७ का धुर्झन्ना, पथरी, डमौलियाका प्रत्येक घरमा अनिवार्य रुपमा दुई वटा बिरुवा लगाउन थालेको नगर प्रमुख नृपबहादुर वडले बताए ।

उप–महानगरपालिकाले २ वटा आँपका बिरुवा निःशुल्क उपलब्ध गराएको छ भने घर धनीले अनिवार्य रुपमा दुईवटा बिरुवा लगाउनु पर्ने व्यवस्था गरिएको छ । धनगढीका नगर प्रमुख वडले वडा नम्बर १७ अन्य वडाको तुलनामा पछाडी परेकाले विकास निर्माणका काममा प्राथमिकतामा पारिएको बताए । उनले वडा नम्बर १७ कृषिका साथै फलफुल खेतीका लागि सम्भाव्य ठाउँ भएकाले आँपको गाउँको रुपमा विकास गर्न थालिएको बताए ।

नगर प्रमुख वडले बिहीबार मात्रै वडामै पुगेर स्थानीयको बारीमा आफै आँप रोपेर सहयोग गरे । नगर प्रमुख वडले आफु निर्वाचित भएर आउने वित्तिकै भोट बराबर बोट, त्यसपछि धनगढीको जनसंख्या बराबर बोटको अभियान सुरु गरेको बताए ।

वडा नम्बर १७ का अध्यक्ष माधवराज रानाले नगर प्रमुख वडको पहलमा आँप गाउँ अभियान अन्तरगत २ हजार ९ सयको हाराहारीमा आँपको बिरुवा वडावासीमा उपलब्ध गराएको बताए ।

धनगढी उप–महानगरपालिका आरयूडिपीको सहयोग र विकासका लागि यूवा ऐक्यवद्धताको साझेदारीमा आँपको विरुवा उपलब्ध गराएको संस्थाका अध्यक्ष विनय लामाले बताए ।