April 18, 2026, Saturday
२०८३ बैशाख ५

स्वाब संकलन गर्न ‘पीपीई’बिनै सेनाको टोली अछाम पुग्यो

अछाम चैत्र २५(ई-रैवार)
नोवेल कोरोनाभाईरस(कोेभिड१९)को उपचार तथा परिक्षणका लागि व्यक्तीगत सुरक्षा सामाग्री(पीपीई) अनिवार्य हो । योबिना चिकित्सक तथा स्वास्थ्यकर्मीमा समेत यसको संक्रमण हुने सम्भावना ह्वात्तै हुन्छ । यसकारण यतिबेला यसको अभावमा चिकित्सक तथा स्वास्थ्यकर्मी निकै असन्तुष्ट छन् । यसबिना उनीहरु काम गर्न मानिरहेका छैनन् ।
यस्तै भयो मंगलबार अछाममा पनि । भारतबाट आएका नागरिकहरुमा कोभिड–१९को परिक्षणका लागि स्वाब लिन सेनाको टोली हेलिकप्टर लिएर अछामको बयलपाटा अस्पताल पुग्यो । जहाँ स्वाब दिन ५१ जना बिहानैदेखी पर्खेर बसेका थिए । अस्पतालको टीम सेनाको टोलीसंग स्वाथ्यकर्मीपनि आउनेभएपछि केन्द्रबाटै सामग्रीसहित आउछन् भन्नेमा ढुक्क थिए ।


तर उनीहरुको बुझाई उल्टो भयो । टोलीसंग पीपीई नै रहेनछ । जसको अभाव बयलपाटा अस्पताललाई पनि थियो । अब सबै जिल्ल परे !
धन्न बयलपाटा अस्पतालसँग चारवटा पीपीई सेट रहेछ । सोही सेट केन्द्रबाट आएको टोलीलाई उपलब्ध गराएपछि दुईघण्टापछि स्वाब लिनेकार्य सुरु भयो ।
टोलीसंगै आएका भेरी अस्पतालका ल्याब टेक्नीसियन प्रसिद्ध ढकालले समन्वयको अभावमा समस्या पैदा भएको बताए । ‘हामीलाई त हिजो(सोमबार) राती खबर भयो, अछाम जानुपर्छ भनेर,’ उनले भने,‘हामीले बोकेनौ टोलीले बोकेको रहेनछ ।’
आफुलाई मुख्य हतियारबिनै युद्धमैदानमा पठाएको अनुभूति भएको भेरी अस्पतालका अर्का ल्याब टेक्नीसियन हरीशरण अधिकारीले बताए । उनले भने, ‘अस्पतालसंग नभएको भए त झण्डै रित्तैहात फर्कनुपर्ने रहेछ ।’
बयलपाटा अस्पतालसंग पनि पीपीई सेटको अभाव रहेको डाक्टर बिकास गौचनले बताए । जिल्लाबाट दुईसय जनाजतिको हाराहारीमा स्वाब परीक्षणका लागि संकलन हुने जनाईएको छ ।