April 18, 2026, Saturday
२०८३ बैशाख ५

‘स्वाँब’ संकलन गर्न सेनाको टोली अछाम आयो, डोटी आएन

डोटी चैत्र २५(ई-रैवार)
क्वारेन्टाईनमा बसेकाहरुमा नोवेल कोरोनाभाईरस(कोभिड–१९)को परिक्षणका लागि ‘थ्रोट स्वाँब’ लिन नेपाली सेनाको टोली मंगलबार डोटीमा आउने कार्यक्रम थियो । यो खबर सञ्चारमाध्यमबाट सुनेका शिखर नगरपालिका–१० को सिद्धेवर माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेकाहरु विहानैदेखी व्यग्र प्रतिक्षामा थिए ।
दिउँसोसम्म नआएपछि निराश बनेका छन् । ‘छिट्टै परिक्षण होला र यताको बसाई टुङ्गीएला भन्ने चाहना थियो,’ क्वारेन्टाईनमा रहेका दीपक बलायरले भने,‘खै के भयो ? अहिलेसम्म सेनाको टोली नै आएन् ।’ यो सम्बन्धी खबर कसैले जानकारी नगराएको उनले बताए ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार मंगलबार आउने भनिएको सेनाको कार्यक्रम स्थगित भएको छ । उनले भने,‘आउन चाँही पक्का आउछ भन्ने छ । तर कहिले आउछ अझै जानकारी आएको छैन् ।’
प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले डोटीका लागि स्वाँब संकलन सामाग्री कम भएका कारण आउन नसकेको खबर पाएको बताए । ‘तत्काललाई कम सामाग्री भएर नआएको खबर पाएका छौ,’ उनले भने,‘भोली(बुधबार) वा पर्सी(बिहिबार)सम्ममा आउला !’
डोटीमा हाल नौ वटा स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाईनहरुमा चार सय २१ जना छन् । जसमध्ये दुईसय देखी दुईसय ५० जनासम्मको स्वाँब सेनाले परिक्षणका लागि संकलन गरेर लैजाने खबर स्वास्थ्य कार्यालयसंग रहेको प्रमुख मलासीले बताए ।
मंगलबारै आउने भनेका जिल्लाहरु अछाम र जुम्लामा भने सेनाको टोली पुगेर संकलन कार्य गरिरहेको छ । स्वास्थ्य कार्यालय अछामका क्षयकुष्ट रोग निरिक्षक समेत रहेका सम्पर्क व्यक्ति देवदत्त जोशीले हेलीकोप्टर मार्फत सेना र स्वास्थ्यकर्मीको टोली अछामको बयलपाटामा अवतरण गरेको बताए।