April 17, 2026, Friday
२०८३ बैशाख ४

कोरोना जोखिम घटाउन डोटीमा सहायता कक्ष

डोटी फागुन ३०(ई-रैवार)
नोवेल कोरोना भाईरस (कोभिड–१९)को जोखिम कम गर्न डोटीमा चार ठाउँमा सहायता कक्ष स्थापना गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलदा यसको जोखिम कम गर्न जिल्लाका चार ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
‘जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर निर्णय लिएका छौ,’ प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले भने,‘निर्णय तत्कालै कार्यान्वयन गर्न आवश्यक तयारी र निर्देशन गरिसकेका छौ ।’
सहायता कक्षहरु जोरायल गाउँपालिका –२ बुडर स्वास्थ्य चौकीमा, दिपायल सिलगढी नगरपालिका–४ पीपल्लाको शैलेश्वरी अस्पतालमा, आदर्श गाउँपालिका–२ मौवा नगरदह स्वास्थ्य चौकीमा र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
साथै जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा आईसोलेसन कक्षको व्यवस्था गर्ने, क्वारेन्टाईनको लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलीप्याडको प्रबन्ध गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन संचय गरेर राख्ने लगायतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।