November 18, 2026, Wednesday
२०८३ मंसिर ३

कैलाली कांग्रेसमा सभापतिका आठ आकांक्षी, सहमति जुटाउन सकस

धनगढी । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहभित्र कैलाली जिल्ला सभापति चयनलाई लिएर रस्साकस्सी बढेको छ। जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापति पदमा आठ जनाले दाबी प्रस्तुत गरेपछि नेतृत्व चयनमा सहमति जुटाउन चुनौती देखिएको हो।

सभापतिका आकांक्षीमा खेम चौधरी, नवराज रावल, वीरेन्द्र भट्ट, यज्ञ उपाध्याय र विनय लामालगायत रहेका छन्। आकांक्षीहरू आ–आफ्नो दाबीबाट पछि हट्न तयार नभएपछि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास तत्कालका लागि निष्कर्षविहीन बनेको छ।

बिहीबार दिनभर आकांक्षीहरूबीच सहमति जुटाउने प्रयासस्वरूप छलफल भए पनि कुनै पनि उम्मेदवारले आफ्नो दाबी छाड्ने संकेत नदिएपछि वार्ता निष्कर्षमा पुग्न सकेन। थप छलफलमार्फत सहमतिको उम्मेदवार खोज्ने भन्दै बैठक टुंगिएको थियो।

आकांक्षीहरूबीच सहमति जुट्न नसकेपछि यसअघि मंसिर १ गतेका लागि तय गरिएको जिल्ला अधिवेशनसमेत स्थगित भएको छ। अब कैलाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर ११ गते गर्ने गरी नयाँ मिति तय गरिएको छ।

यसअघि कात्तिक १९ गते धनगढीमा भएको जिल्ला अधिवेशनको तयारी तथा समसामयिक विषयसम्बन्धी छलफलले मंसिर १ गते अधिवेशन गर्ने निर्णय गरेको थियो। तर सभापति पदका आकांक्षीबीच सहमति जुटाउन नेतृत्व तहबाट भएका प्रयास सफल नभएपछि अधिवेशनको मिति सारिएको हो।

सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले कैलालीमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन्।

उनका अनुसार कांग्रेसको महाधिवेशनलाई सार्थक बनाउन वडादेखि नै सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने अभ्यास भइरहेको छ। कैलालीमा पनि छलफल र संवादमार्फत सर्वसम्मत नेतृत्व चयन गर्न सकिने उनको भनाइ छ।

तर आठ जना आकांक्षी देखिएपछि कैलाली कांग्रेसमा अब सहमतिको उम्मेदवार तय गर्ने कि निर्वाचनमार्फत नेतृत्व चयन गर्ने भन्ने प्रश्न पेचिलो बनेको छ। मंसिर ११ गतेको अधिवेशनअघि आकांक्षीहरूबीच सहमति जुटाउन नेतृत्व तहमा थप छलफल र शक्ति सन्तुलनको प्रयास हुने देखिएको छ।