बैतडीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, ६ जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने जिप चालकसहित ६ जना घाइते भएका छन्।
डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार साँझ पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१, सौडानी खोलामा दुर्घटनामा परेको हो।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहले जानकारी दिए। गम्भीर घाइते भएकी मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करनसिंह मङ्गोला, सुनिल बस्केल र जिप चालक सन्तोष राम लुहार घाइते भएका छन्।
घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिप अनियन्त्रित भई सडकबाट तल खसेको थियो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



प्रतिकृया दिनुहोस्