November 3, 2026, Tuesday
२०८३ कार्तिक १८

कांग्रेसको नयाँ कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले सोमबार सभापति गगनकुमार थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिको विवरणसहित आयोगमा निवेदन दिएका हुन्। पौडेलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन्।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम कांग्रेसले नयाँ कार्यसमितिको विवरण आयोगमा अद्यावधिकका लागि पेश गरेको हो। पार्टीको नेतृत्व परिवर्तनसँगै निर्वाचित नयाँ पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्नुपर्ने व्यवस्था छ।

महामन्त्री पौडेलले कार्यसमितिको विवरणसँगै पार्टीका विभिन्न महत्वपूर्ण दस्तावेजसमेत आयोगमा बुझाएका छन्। उनले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, १५औँ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगमा पेश गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका थिए। नयाँ नेतृत्व निर्वाचित भएपछि पार्टीको आधिकारिक विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढाइएको हो।