धनगढीमा अनियन्त्रित विङ्गर दुई पसलमा ठोक्कियो, एक जना घाइते

धनगढी । कैलालीको धनगढीमा अनियन्त्रित विङ्गर दुई पसलमा ठोक्किँदा एक जना घाइते भएका छन्। सोमबार बिहान करिब ९ः४० बजे धनगढी उपमहानगरपालिका–४ बोराडाँडीस्थित ६ लेन सडकखण्डमा दुर्घटना भएको हो।
जानकी गाउँपालिका–७ का ३२ वर्षीय राजु चौधरीले चलाएको सुपप्र ०१–००१ ज १४४३ नम्बरको विङ्गर अनियन्त्रित भएर बोराडाँडी चोकमा रहेका दुई पसलमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोभा सुज एण्ड त्रिपाल पसलका सञ्चालक ४९ वर्षीय रमेश हिताङ घाइते भएका छन्। उनको कम्मरमा चोट लागेको र उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
विङ्गरको ठक्करबाट शिवबहादुर बमले सञ्चालन गरेको किराना पसल र हिताङको सुज एण्ड त्रिपाल पसलमा क्षति पुगेको छ।
दुर्घटनामा संलग्न विङ्गर घटनास्थलमै रहेको छ भने चालक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्