तरुण दलको ७४औँ स्थापना दिवस : ३५ जिल्लामा सामाजिक तथा रचनात्मक कार्यक्रम

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ७४औँ स्थापना दिवसका अवसरमा देशभर सामाजिक तथा रचनात्मक कार्यक्रम आयोजना गरेको छ। स्थापना दिवसका अवसरमा मंगलबार करिब ३५ जिल्लामा रक्तदान, बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता तथा मन्दिर सरसफाइलगायतका कार्यक्रम सञ्चालन गरिएको हो।
काठमाडौँको सङ्कटा मन्दिर परिसरमा आयोजित सरसफाइ अभियानको नेतृत्व गर्दै तरुण दलका अध्यक्ष मनिष कोइरालाले संस्थालाई युवाको आवाज र जनतासँग जोडिने माध्यमका रूपमा पुनःपरिभाषित गर्ने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष कोइरालाले युवा पुस्तालाई संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले मन्दिर सरसफाइ अभियानलाई नियमित कार्यक्रमका रूपमा अघि बढाउने निर्णय गरिएको बताए। उनका अनुसार बाँके, वीरगञ्ज र धादिङलगायतका जिल्लामा पनि अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
कार्यक्रममा कोइरालाले रक्तदान, फलफूल वितरण, फुटबल प्रतियोगिता र मन्दिर सरसफाइ लगायतका कार्यक्रममार्फत स्थापना दिवस मनाइएको बताए। तरुण दललाई युवाको आवाज उठाउने, जनतासँग जोडिने र संस्कृति संरक्षण गर्ने संस्थाका रूपमा अघि बढाउने उनको भनाइ छ।
उनले बदलिँदो प्रविधिलाई आत्मसात् गर्दै आगामी दिनमा कृत्रिम बुद्धिमत्ता ९एआई० लगायतका क्षेत्रमा समेत काम गर्ने योजना रहेको जानकारी दिए।
समाजमा तरुण दलप्रतिको परम्परागत बुझाइलाई परिवर्तन गर्दै संस्थालाई सामाजिक रूपान्तरणको संवाहक बनाउने दाबी गर्दै अध्यक्ष कोइरालाले आगामी एक महिनाभित्र युवासँग प्रत्यक्ष जोडिने छ वटा नयाँ कार्यक्रम प्रेस सम्मेलनमार्फत सार्वजनिक गर्ने बताए।



प्रतिकृया दिनुहोस्