October 27, 2026, Tuesday
२०८३ कार्तिक ११

एनपीएलमा आज दुई खेल : विराटनगर-चितवन र जनकपुर-कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।

पहिलो खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ। राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असलंकाजस्ता विदेशी खेलाडी छन्। अघिल्लो सिजनमा विराटनगर दोस्रो क्वालिफायरसम्म पुगेको थियो।

विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग र दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि फाइनल पुग्न असफल भएको थियो। यसपटक टोली सुरुवातदेखि नै बलियो प्रदर्शन गर्ने लक्ष्यमा छ।

चितवन राइनोज भने अघिल्लो सिजन प्लेअफमा पुग्न नसकी प्रतियोगिताबाट बाहिरिएको थियो। यसपटक चितवनमा सिकन्दर रजा र रवि बोपारा लगायतका अनुभवी विदेशी खेलाडी छन्।

आजको दोस्रो खेल अपराह्न साढे ४ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ। जनकपुर एनपीएलको पहिलो सिजनको विजेता हो भने दोस्रो सिजनमा टोली प्लेअफमै पुग्न सकेको थिएन।

जनकपुरको टोलीमा मोइन अली, जिमी निसम र इफ्तिखार अहमद जस्ता विदेशी खेलाडी छन्। यता कर्णाली याक्समा डेभिड मिलर, साहिबजादा फरहान र हुसेन तलत लगायतका विदेशी खेलाडी छन्।

एनपीएलको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले पराजित गरेको थियो। कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।