October 27, 2026, Tuesday
२०८३ कार्तिक ११

कञ्चनपुरमा १० लाखभन्दा बढीको अवैध सामान बरामद, तीन जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले दुई दिनमै १० लाख ४९ हजार ३८५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार आइतबार र सोमबार प्रदेश तथा जिल्ला प्रहरीको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट अवैध सामान बरामद गरेको हो। बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

आइतबार मात्रै प्रहरीले पाँच लाख १७ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको थियो। बरामद हुनेमा साइकलका पाटपुर्जा, ट्युब, मिठाइ, मोटरसाइकल, माछा तथा पेय पदार्थ रहेका छन्।

त्यसैगरी, प्रहरीले तीन लाख ७४ हजार २२५ रुपैयाँ बराबरका कपडा, खाद्यान्न तथा किराना सामान समेत बरामद गरेको जनाएको छ।

सोमबार भीमदत्त नगरपालिका–१८ स्थित कारागार रोडबाट अवैध सामान ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो। प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरूलाई एक लाख ५७ हजार रुपैयाँ बराबरको अवैध सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ का ५० वर्षीय लप्टन चौधरी, वडा नं। ११ का किसनदत्त जोशी र वडा नं। १७ का लबराज चटौत रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल, चेक स्पोकेट, ब्रेक तथा प्लास्टिकलगायतका सामान बरामद गरिएको छ। बरामद सामान भन्सार कार्यालयमा बुझाइएको र पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।