October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

विश्व दृष्टि दिवस : घट्यो अन्धोपन, बढ्दैछन् आँखाका नयाँ चुनौती

काठमाडौँ । नेपालमा अन्धोपनको दर घट्दै गए पनि ग्लुकोमा, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, आँखाको पर्दासम्बन्धी रोग तथा उमेरसँग सम्बन्धित आँखाका समस्या नयाँ चुनौतीका रूपमा देखिन थालेका छन्।

‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार मनाइने दिवसले आँखाको नियमित हेरचाह, समयमै परीक्षण तथा दृष्टि संरक्षणका लागि जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ।

यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ। विद्यालय, कार्यस्थल तथा नीति निर्माण हुने स्थानमा आँखा परीक्षण र जनचेतनामूलक गतिविधि विस्तार गर्नुपर्नेमा पनि जोड दिइएको छ।

नेपालमा पछिल्ला दशकमा अन्धोपनको दर भने उल्लेख्य रूपमा घटेको तथ्यांकले देखाएको छ। सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकामा सन् २०२२ को र्‍यापिड एसेसमेन्ट अफ एभाइलेबल भिजन (आरएएबी) सर्वेक्षणमा यो दर शून्य दशमलव २८ प्रतिशतमा झरेको पाइएको छ।

तर अन्धोपनको दर घट्दैमा आँखासम्बन्धी सबै समस्या समाधान भएको अवस्था छैन। नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग तथा दृष्टिदोषजस्ता समस्या अझै चुनौतीका रूपमा रहेका छन्।

बढ्दो औसत आयु, नसर्ने रोगको बढ्दो भार, बदलिँदो जीवनशैली तथा डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेको सङ्घको भनाइ छ। त्यसैले आँखामा समस्या देखिएपछि मात्र उपचार खोज्नेभन्दा नियमित परीक्षण र समयमै उपचारमा जोड दिनुपर्ने चिकित्सकहरू बताउँछन्।

नेपाल नेत्रज्योति सङ्घका अनुसार सङ्घअन्तर्गतका संस्थाबाट हालसम्म पाँच करोड दुई लाख ४८९ जनाले आँखा उपचार सेवा लिइसकेका छन् भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

सङ्घले हाल २८ वटा आँखा अस्पताल तथा ४४ जिल्ला शाखाअन्तर्गतका २२६ उपचार केन्द्रमार्फत नेपालसहित विभिन्न देशका नागरिकलाई आँखा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।