September 28, 2026, Monday
२०८३ आश्विन १२

विश्व रेबिज दिवस : नेपालमा २०३० सम्म रेबिज उन्मूलनको लक्ष्य

काठमाडौं । विश्व रेबिज दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। रेबिजको रोकथाम तथा नियन्त्रणमा भएका प्रगति र चुनौतीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाइन्छ।

यस वर्षको दिवसको नारा ‘सँगै अझ बलियो’ रहेको छ। रेबिजविरुद्धको पहिलो खोप विकास गरेका फ्रान्सेली वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिनको स्मरणमा पनि सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसका रूपमा मनाइन्छ।

रेबिजविरुद्धको अभियानमा सरकार, स्वास्थ्य संस्था, पशु स्वास्थ्य क्षेत्र, गैरसरकारी संस्था तथा अन्य सरोकारवालालाई एकजुट गराउने उद्देश्यले दिवस मनाउने गरिएको हो। ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि यो दिवस मनाउन सुरु गरेको थियो भने पछि विश्व स्वास्थ्य संगठनले पनि यसलाई समर्थन गरेको हो।

नेपालले सन् २०३० सम्म रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। तर देशमा रेबिज अझै सार्वजनिक स्वास्थ्यको चुनौतीका रूपमा रहेको छ। नेपालमा मानवमा हुने रेबिजका अधिकांश घटना संक्रमित कुकुरको टोकाइसँग सम्बन्धित छन्।

रेबिज स्नायु प्रणालीमा असर गर्ने घातक भाइरल सङ्क्रमण हो। संक्रमित कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बिरालोलगायत जनावरको टोकाइ वा उनीहरूको लार घाउमा परेमा यसको संक्रमण हुन सक्छ।

सम्भावित जोखिममा परेपछि घाउलाई साबुनपानीले राम्रोसँग सफा गरी स्वास्थ्य संस्थामा तत्काल पुगेर चिकित्सकीय सल्लाहअनुसार रेबिजविरुद्धको खोप तथा आवश्यक उपचार लिनु महत्वपूर्ण हुन्छ।

रेबिजका लक्षण देखिएपछि रोग अत्यन्त गम्भीर हुने भएकाले संक्रमण हुन नदिनु नै सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। जनावरको टोकाइ वा सम्भावित सम्पर्कपछि ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुग्न र घरपालुवा तथा अन्य जनावरसँग सम्पर्क गर्दा आवश्यक सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाव दिँदै आएका छन्।