आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झनामा श्राद्ध गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गरिने भएकाले यस अवधिलाई ‘सोह्र श्राद्ध’ भनिन्छ। यसलाई अपर पक्ष वा प्रेत पक्षसमेत भनिन्छ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व, यज्ञयाग तथा अन्य शुभ कार्यअघि पितृलाई श्रद्धापूर्वक सम्झने प्रचलन छ। सोह्र श्राद्धका क्रममा पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ।
सोह्र श्राद्धका लागि काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रलगायत विभिन्न मन्दिर तथा नदी किनारमा श्रद्धालु पुग्ने गर्छन्।
तर, केही दिनदेखि लगातार भइरहेको वर्षाका कारण यस वर्ष पशुपति क्षेत्रमा विगतका वर्षको तुलनामा श्राद्ध गर्नेहरूको चहलपहल र भीड कम देखिएको छ।



प्रतिकृया दिनुहोस्