September 25, 2026, Friday
२०८३ आश्विन ९

आजदेखि नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि एक हजार रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोट साविककै आकारमा रहे पनि रङमा परिवर्तन गरिएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोट बैजनी रङको घेराभित्र फिक्का हरियो रङको रहेको छ।

नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको मुनि १,००० अंकित गरिएको छ।

नोटको मध्य भागमा चितवनस्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका हात्तीमध्ये देवकलीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ एक हजार रुपैयाँको नोटको सिरिज २०२५ रहेको छ। यसको संकेत नम्बर ९२०००००१ देखि ५०९९९९९९ सम्म रहेको छ।

यसअघि २०७७ साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइएको एक हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो।