October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

भोटेकोसी बाढी : मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेकामध्ये १ हजार २३० शवको पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ।

सबैभन्दा बढी चितवनमा ३६४, नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ शव फेला परेका छन्। यस्तै गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार पहिचान हुन बाँकी शवको डिएनए नमुना संकलन गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। हालसम्म मृतक र आफन्त गरी ३ हजार १३२ जनाको डिएनए नमुना संकलन गरिएको छ।

प्रहरीका अनुसार पहिचान हुन बाँकी १ हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। बाढीमा परी ४ हजार ८९ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

खोजी, उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।