रसुवा बाढी : मृत्यु १,३७७ पुग्यो, ५,१३० अझै बेपत्ता

काठमाडौँ । रसुवा केन्द्रित बाढी तथा विपद्का घटनामा मृत्यु हुनेको संख्या १ हजार ३७७ पुगेको छ भने ५ हजार १३० जना अझै बेपत्ता रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
हालसम्म १०४ वटा शवको सनाखत भएको छ। बेपत्ता हुनेको संख्या ५ हजार १३० पुगेको छ, जसमा रसुवा र नुवाकोट क्षेत्रका नागरिकको संख्या ठूलो रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।
विपद्पछि विभिन्न १९ अस्पतालमा ३३३ जना उपचाररत छन् भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धारतर्फ हालसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूको व्यवस्थापनका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती सेन्टरमा नुवाकोटका २ हजार ६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रित छन्।
उद्धार तथा राहतका लागि नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरीले २७२ वटा हवाई उडान गरेका छन्। स्वास्थ्य उपचारतर्फ नेपाली सेनाबाट ३ हजार ५५९ र सशस्त्र प्रहरीबाट ३ हजार ६०६ जनाले सेवा पाएका छन्।
खोज, उद्धार तथा सुरक्षाका लागि २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।
सरकारले रसुवामा एक करोड, नुवाकोटमा एक करोड र धादिङमा ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ। प्रभावित १५ पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ राहत पठाइएको प्राधिकरणले जनाएको छ। सडक तथा हवाईमार्गबाट खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाउने क्रम जारी छ।





प्रतिकृया दिनुहोस्