आजको मौसम : देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज अधिकांश भूभागमा बदली रहने तथा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागमा सामान्यतया बदली छ भने गण्डकी र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि बादल लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
सुदूरपश्चिमसहित देशका विभिन्न तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, कोशी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका साथै बागमती र गण्डकीका हिमाली, पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्