August 31, 2026, Monday
२०८३ भाद्र १५

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ सम्पर्कविहीन

काठमाडौं । तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म विभिन्न जिल्लामा ९०३ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जनाको शव फेला परेको छ।

बाढीमा परी ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३, रसुवाका ८६५ र नुवाकोटका १ हजार ५५८ जना छन्।

त्यस्तै विभिन्न जलविद्युत् आयोजनाका ९३३, मकवानपुरका ६५, विदेशी नागरिक ५९२, विदेशी नागरिकसँगै घुम्न गएका १२७ नेपाली, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।