August 30, 2026, Sunday
२०८३ भाद्र १४

कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक पूर्ण अवरुद्ध

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

नदीले सडकको तल्लो भाग कटान गरेपछि मुख्य सडक भासिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सडक भासिएपछि काठमाडौं–मुग्लिन सडकमा दुवैतर्फको यातायात पूर्ण रूपमा रोकिएको छ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पुनः बन्द भएको हो। सडक बन्द भएपछि काठमाडौं र मुग्लिनतर्फ जाने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

चितवन प्रहरीले अर्को सूचना जारी नभएसम्म नारायणगढबाट काठमाडौं जाने तथा काठमाडौंबाट नारायणगढतर्फ आउने सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ बजे धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह तीन मिटरले बढेको थियो।

भोटेकोशीको बाढीका कारण त्रिशूलीको तल्लो तटीय क्षेत्रमा जोखिम बढेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले नारायणी नदी र यसका सहायक नदीमा समेत जलसतह थप बढ्न सक्ने अनुमान गरिएको छ।

महाशाखाले चितवन, नवलपरासीलगायत नारायणी नदीको तटीय क्षेत्रमा रहेका बासिन्दालाई आज दिनभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।