तिब्बतको केरुङ बाढी-पहिरोमा ५४६ बेपत्ता, १०४ जना नेपाली नागरिक

काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएको चीन सरकारले जनाएको छ।
चिनियाँ राज्य–नियन्त्रित टेलिभिजनका अनुसार केरुङ क्षेत्रमा बाढी–पहिरोपछि ५४६ जना बेपत्ता छन्। तीमध्ये २३ विभिन्न देशका २६१ जना विदेशी नागरिक रहेका छन्।
चिनियाँ विदेश मन्त्रालय, जनसुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायहरूको संयुक्त छानबिनपछि सार्वजनिक गरिएको विवरणअनुसार बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नेपाली नागरिक छन्। नेपालपछि भारतका ४९, लात्भियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना बेपत्ता रहेको जनाइएको छ।
चीनले बेपत्ता विदेशी नागरिकबारे सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगलाई आधिकारिक जानकारी गराइसकेको जनाएको छ।
चीन सरकारको आधिकारिक तथ्यांकअनुसार केरुङ बाढी–पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ।
सञ्चार सम्पर्क विच्छेद हुनुका साथै हिमाली क्षेत्रमा सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले खोज तथा उद्धारमा कठिनाइ भइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उद्धार टोली र ड्रोन परिचालन गरी रातदिन खोजी कार्य जारी राखिएको उनीहरूको भनाइ छ।





प्रतिकृया दिनुहोस्