August 30, 2026, Sunday
२०८३ भाद्र १४

कञ्चनपुरसहित चार क्षेत्रमा धेरै भारी वर्षा, नदी-खोलामा बाढीको जोखिम

काठमाडौं । पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची तथा धादिङ–गोरखा सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा मापन भएको छ। मौसम विज्ञानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई ‘धेरै भारी वर्षा’ मानिन्छ।

धादिङ र गोरखाको सीमा क्षेत्रमा रहेको आरुघाट वर्षा मापन केन्द्रमा १२४.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। यस्तै, सिन्धुपाल्चोकमा १२३.२ र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा मापन भएको छ।

पछिल्ला केही दिनदेखि सिन्धुपाल्चोकमा निरन्तर मध्यमदेखि धेरै भारी वर्षा भइरहेको छ। कञ्चनपुरमा पनि शनिबारदेखि आइतबार बिहानसम्म वर्षा भइरहेको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा लुम्बिनीका केही जिल्ला तथा गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ। अन्य क्षेत्रमा भने मध्यमदेखि सामान्य वर्षा भएको विभागको तथ्यांक छ। आइतबार बिहान भने अधिकांश क्षेत्रमा वर्षा कम हुँदै गएको छ।

विभागका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए ‘भारी’, १०० देखि २०० मिलिमिटर ‘धेरै भारी’ र २०० मिलिमिटरभन्दा बढी वर्षा भए ‘अति भारी’ वर्षा मानिन्छ।

धेरै वर्षा भएका क्षेत्रका नदी तथा खोलामा बाढीको जोखिम बढेको विभागले जनाएको छ। विशेषगरी कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।