April 17, 2026, Friday
२०८३ बैशाख ४

दुईवर्षसम्म शुरु भएन एक किलोमिटर कालोपत्रेको काम

डोटी पुस ३ (ईरैवार)
एक किलोमिटर कालोपत्रे गर्न कति समय लाग्ला ?
दुई महिना, तिन महिना वा छ महिना ! धेरैमा एकवर्ष । तर दिपायलको एक सडकमा दुईवर्षभन्दा बढी समय घर्कदापनि काम शुरु नै भएको छैन् ।
दिपायल सेतीनदीको पक्कीपुलदेखी एयरपोर्ट जोड्ने एक हजार एक सय मिटर सडक कालोपत्रेका लागि धनगढीको देवसिँह निर्माण सेवासंग ठेक्का स्विकृत भएर २०७४ कार्तिक २० गते सम्झौता भएको थियो । सम्झौताको कुल रकम भ्याटसहित एक करोड ४९ लाख ३० हजार नौ सय ३२ रहेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजपुरले जनाएको छ ।
निर्माण कम्पनीलाई २०७६ कार्तिक १९ सम्म गरी दुईवर्षको निर्माण सम्झौता अवधि थियो । त्यो सकिएको दुईमहिना नाघिसकेको छ । कम्पनीले यो बिचमा कालोपत्रे सक्नु त कहाँ हो कहाँ, शुरुवात समेत गरेको छैन् ।
यता समयमै योजना सम्पन्न भएर फराकिलो र सफा सडकको आश गरेका स्थानीयबासी अझै सास्ती भोग्न बाध्य छन् । ‘योजनाका लागि बर्षाै हार–गुहार गरेर धौ–धौ गरेर योजना त पायौ,’ स्थानीयबासी नैनसिँह कठायतले दुखेसो पोखे,‘ठेकेदारको लापरबाहीले योजना नै जान्छ भन्ने डर लाग्दैछ ।’
यता ठेकेदारलाई पटक–पटक ताकेता गर्दापनि सम्पर्कमा नआएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजपुरले जनाएको छ । ‘हामीले १३/१४ पटक पत्राचार गरिसक्यौ,’ सव–ईन्जीनियर अभिषेक मलासीले भने,‘काम गर्छौ भन्छन् । यता म्याद गुज्रिसक्यो काम शुरु नै भएको छैन् ।’
ठेकेदार कम्पनीका दुईजना साझेदार बीचमा आपसी ‘लेनदेन’को बिबादले काम सुचारु हुन नसकेको स्थानीयस्तरमा हल्ला छ । देवसिँह निर्माण सेवाको फर्म प्रयोग गरेर हर्क शाह र भूपेन्द्रसिँह धामीले सहकार्यमा काम गर्दछन् । ‘ठेकेदारहरुका बीचमा लेनदेनको विवाद रहेकाले उनीहरुले यो काम लथालिङ्ग पारेका हुन भन्ने सुनिन्छ,’ स्थानीयबासी लालबहादुर कठायतले भने । यो योजनामा ३१ लाख रकम पेश्की लगिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले जनाएको छ ।
यता ठेकेदार धामीले व्यवस्थापकिय समस्याका कारण काममा ढिलाई भएको बताए । उनले भने,‘केही व्यवस्थापकिय समस्याका कारण ढिलाई भयो । अब म्याद थप माग्दै छौ । म्याद थपेर तत्काल काम गर्छौ ।’