गाईजात्रा पर्व आज मनाइँदै, काठमाडौँ उपत्यकामा विशेष रौनक

काठमाडौँ । दिवङ्गत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज देशभर मनाइँदै छ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यस पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परा छ। सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत अन्न तथा द्रव्य दान गर्ने गर्छन्।
धार्मिक विश्वासअनुसार गाईको पुच्छर समातेर नगर परिक्रमा गरे मृतात्माले वैतरणी नदी पार गर्छन् भन्ने मान्यता छ।
इतिहासअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी रानीलाई संसारमा मृत्यु र शोक सबैले बेहोर्नुपर्छ भन्ने देखाउन गाईजात्राको परम्परा सुरु गराएका थिए। रानीको मन शान्त पार्न विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न आदेश दिइएपछि गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा बसेको जनश्रुति छ।
गाईजात्राका क्रममा सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रस्तुति, प्रहसन, नाचगान तथा दिवङ्गत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत प्रस्तुत गर्ने गरिन्छ।
काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको बाक्लो बसोबास भएका शहरमा गाईजात्रा विशेष उत्साहका साथ मनाइन्छ।
गाईजात्रा हनुमानढोकास्थित तत्कालीन राजदरबार हुँदै लैजाने परम्परा पनि कायमै छ। यस अवसरमा हास्य कलाकारहरूले समेत विशेष कार्यक्रम आयोजना गर्ने गर्छन्।
सरकारले गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरे पनि यस वर्ष गाईजात्रा शनिबार परेको छ।





प्रतिकृया दिनुहोस्