भोटेकोशी बाढी : मृतकको संख्या ४७५ पुग्यो, फेरि बाढीको जोखिम बढ्यो

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ४७५ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लामा ४७५ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७, चितवनमा १७९, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव फेला परेको छ।
यसैबीच, भोटेकोशीमा पुनः बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२ः३१ बजे सूचना जारी गर्दै रसुवामा भोटेकोशीको बाढी बढिरहेको र स्याप्रुबेसीसम्म आइपुगेको जनाएको छ।
महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भोटेकोशी क्षेत्रमा लेदोसहितको बाढीको जोखिम कायमै रहेको जनाएको छ। माथिल्लो क्षेत्रमा लेदो बढेकाले थप बाढी आउन सक्ने भन्दै नदी किनारमा रहेका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।
यसअघि तिब्बततर्फ पानी जमेको ताल पुनः फुटेको सूचना आएपछि नेपाल प्रहरीले पनि भोटेकोशी तथा तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको थियो।
भदौ १० गते आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङलगायतका तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। अहिले पुनः बाढीको जोखिम बढेपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य थप चुनौतीपूर्ण बनेको छ।





प्रतिकृया दिनुहोस्