रसुवा बाढी : भोटेकोशीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता

काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा ३८४ जना पर्यटक तथा पदयात्री बेपत्ता भएका छन्।
नेपाल पर्यटन बोर्डको दोस्रो स्थिति प्रतिवेदनअनुसार बेपत्तामध्ये २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्। बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशीमा अचानक आएको भीषण बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन्।
पर्यटन एजेन्सीहरूले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना र सम्राट टुर एण्ड ट्राभल्समार्फत गएका ७१ जना बेपत्ता छन्। त्यस्तै, लिफ होलिडेका ५५ जना र हिमालयन ग्लेशियरका ५२ जना पर्यटक तथा पदयात्रीको अवस्था अज्ञात रहेको बोर्डले जनाएको छ।
बेपत्ता विदेशी नागरिकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिक रहेका छन्। केहीको राष्ट्रियता भने खुल्न बाँकी छ।
नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा ट्रेकिङ गाइडहरूले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन्। बोर्डले पर्यटन एजेन्सीबाट प्राप्त विवरण रुजु गर्ने कामसमेत अघि बढाएको जनाएको छ।



प्रतिकृया दिनुहोस्