महाधिवेशन प्रक्रिया रोक्न कांग्रेस इतर समूह सर्वोच्च जाने

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अघि बढाइएको भन्दै इतर समूह अदालत जान लागेको हो।
इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया रोक्न अदालतमा निवेदन दिने बताए। उनका अनुसार नेता रमेश लेखक संयोजक रहेको कानून तथा विधान समितिले एक–दुई दिनभित्र सर्वोच्चमा निवेदन दिने तयारी गरेको छ।
‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा एक पक्षले एकतर्फी रूपमा प्रक्रिया अघि बढाउन मिल्दैन,’ विश्वकर्माले भने।
यसअघि इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले २६ साउनमा कांग्रेस र निर्वाचन आयोगलाई पत्र पठाउँदै महाधिवेशनसम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेका थिए।
सर्वोच्च अदालतले २१ साउनमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनका लागि अनुमति दिएको थियो। त्यसपछि विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुनुवाइमा गएको छ।
इतर समूहले अदालतबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सांगठनिक तथा नीतिगत प्रक्रिया अघि नबढाउन माग गर्दै आएको छ।





प्रतिकृया दिनुहोस्