October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक संघर्षका लागि तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएको आरोप लगाउँदै सडकबाट प्रतिवाद गर्नुपर्ने समय आएको बताएका हुन्।

संघीयता, धर्मनिरपेक्षता, समावेशीता र समानुपातिक प्रणालीलगायत राजनीतिक परिवर्तनका प्रमुख उपलब्धिको सम्बाहक आफूहरू रहेको दाबी गर्दै उनले नेपाली कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वलाई घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताएका छन्।

‘प्रतिक्रियावादी जाग्नुअघि नै क्रान्तिकारीहरूले धावा बोल्नुपर्छ’ भन्दै प्रचण्डले पार्टीका नेता–कार्यकर्तालाई राजनीतिक रूपमा सक्रिय र सचेत रहन आग्रह गरे।

देशी–विदेशी प्रतिक्रियावादी शक्तिको उक्साहटमा संविधान उल्ट्याउने दुस्साहस भइरहेको दाबी गर्दै उनले संविधान निर्माणका क्रममा भएको सहमतिबाट पछि नहट्न नेपाली कांग्रेसका दुवै समूहलाई समेत आग्रह गरे।

प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी राजनीतिक व्यवस्थामाथि हुने कुनै पनि चुनौतीको प्रतिवाद गर्न पार्टीलाई संगठित र संघर्षशील बनाउनुपर्नेमा जोड दिएका छन्।