August 18, 2026, Tuesday
२०८३ भाद्र २

अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

काठमाडौं : सरकारले अनलाइन माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा सूचीकृत हुन ताकेता गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल, मार्केटप्लेसलगायत डिजिटल माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गर्ने सबैलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको हो।

विभागले विद्युतीय व्यापार ऐन, २०८१ तथा विद्युतीय व्यापार निर्देशिका, २०८२ अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने चेतावनी दिएको छ।

विभागका अनुसार कम्प्युटर, मोबाइल वा यस्तै विद्युतीय उपकरणको माध्यमबाट वेबसाइट, एप्लिकेसन, इन्टरनेट, इन्ट्रानेट, सामाजिक सञ्जालको मार्केटप्लेसलगायत माध्यम प्रयोग गरी वस्तु तथा सेवाको कारोबार गर्ने सबै व्यवसायी सूचीकृत हुनुपर्नेछ।

पछिल्लो समय अनलाइन कारोबारका नाममा उपभोक्ता ठगी, गलत विवरण राखेर बिक्री गर्ने तथा कारोबारपछि सम्पर्कविहीन हुनेजस्ता गुनासा बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउन नियमनमा कडाइ थालेको हो।

विभागले अनलाइन व्यापारमा संलग्न व्यवसायीलाई कानुनी व्यवस्था पालना गरी तोकिएको प्रक्रियाअनुसार सूचीकृत हुन आग्रह गरेको छ।