October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

भारतीय सेना प्रमुख सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेना प्रमुख सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्।

नेपाल र भारतबीच सन् १९५० देखि कायम रहेको परम्पराअनुसार दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने गरिएको छ। सोही परम्पराअनुसार सेठलाई उक्त सम्मान प्रदान गरिएको हो।

तीनदिने नेपाल भ्रमणका क्रममा भारतीय सेना प्रमुख सेठ आइतबार अपराह्न काठमाडौं आइपुगेका थिए। भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारीसँग भेटवार्ता तथा द्विपक्षीय सैन्य सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू र नेपालका लागि भारतीय राजदूतलगायतको उपस्थिति थियो।