October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

पत्रकार किशोर श्रेष्ठ पक्राउ, घर र कार्यालयमा प्रहरीको खानतलासी

काठमाडौं : जनआस्था साप्ताहिकका अध्यक्ष तथा प्रधान सम्पादक पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार साँझ ललितपुरको नख्खुबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठलाई घरतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको हो। एक सांसदको महिलासँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘उहाँलाई घरतर्फ जाँदै गर्दा हामीले नियन्त्रणमा लिएका हौं,’ एसएसपी घिमिरेले भने, ‘एक सांसदको महिलासँगको तस्बिर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेको छ। त्यसपछि पक्राउ गरिएको हो।’

श्रेष्ठ पक्राउ परेलगत्तै प्रहरीले उनको निवास र कार्यालयमा समेत खानतलासी गरेको छ। प्रहरीले बुधबार राति उनको निवासमा खानतलासी गरेको थियो भने बिहीबार बिहान जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको हो।

खानतलासीका क्रममा प्रहरीले श्रेष्ठको कार्यालयबाट मोबाइल फोन र कम्प्युटरसहितका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी थापाका अनुसार अनुसन्धानका क्रममा आवश्यक परेकाले ती उपकरण नियन्त्रणमा लिइएको हो।

प्रहरीले श्रेष्ठमाथि परेको उजुरी र सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीबारे अनुसन्धान अघि बढाएको जनाएको छ।