August 6, 2026, Thursday
२०८३ श्रावण २२

डोटीको पेटारो : सदियौँदेखि बडीमालिका पुगिरहेको आस्थाको यात्रा

धनगढी : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक धाम  तथा पर्यटकीय गन्तव्य बडीमालिका पूजाका लागि भदौ दोस्रो साताको पर्खाइ सुरु भइसकेको छ। मेलाको तिथि नजिकिँदै गर्दा सुदूरपश्चिमभर बडीमालिका यात्राको तयारीमा तीर्थालुको उत्साह छाइसकेको छ।

यसै मेसोमा इतिहास र आस्था जोड्ने डोटीको प्राचीन ‘पेटारो’ (विशेष पूजा सामग्री) को तयारी पनि उत्तिकै जोडतोडले चलिरहेको छ। बडीमालिका पूजाको १५ दिनअघि आउँदो साता साउन २८ मा डोटी गौडा (हालको जिल्ला प्रशासन कार्यालय) बाट परम्परागत पूजा सामग्रीसहितको टोली पैदल यात्रामा निस्कँदै छ। डोटीबाट पठाइने यो पेटारो परम्परा सुदूरपश्चिमको इतिहास र आस्थाको प्रतीक तथा संस्कृतिको गौरव पनि मानिन्छ।

‘डोटी गौडाबाट हरेक वर्ष पेटारोसहित सरकारी पूजा टोली बडीमालिका प्रस्थान गर्ने परम्परा केवल धार्मिक अनुष्ठान मात्र होइन,’ डोटीस्थित शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्ट भन्छन्, ‘यो परम्परा त यस क्षेत्रको इतिहास, संस्कृति र आस्थाको जीवन्त प्रमाण हो।’

के हो पेटारो ?

श्रावण औँसीको अघिल्लो दिन डोटीको दीपायलस्थित दिल्पेश्वर मन्दिर परिसरमा रहेको बडीमालिकाकै गुठी जग्गामा रोपाइँ गरिन्छ। रोपाइँका क्रममा मन्दिरका पुजारी र स्थानीयले भुरुणी (धानको बीउबाट बनाइने एक प्रकारको फूल) जिल्ला प्रशासन कार्यालयमा ल्याउँछन्।

बडीमालिका पठाइने पेटारो दीपायल दिल्पेश्वरबाट आएको भुरुणीसँगै जिल्ला प्रशासन कार्यालय र शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले तयार गर्छन्। ‘पेटारोमा चाँदीको काइयो, चाँदीको छत्र, सुनको जलप लगाइएका गहनासहित श्रृंगार सामग्री, सुनकै जनै, चाँदीको बाँसुरीलगायतका पूजा सामग्री तयार गरिन्छ,’ शैलेश्वरीका पुजारी भट्ट भन्छन्, ‘०५८/५९ सालसम्म यी पूजा सामग्रीका लागि गृह मन्त्रालयबाटै बजेट आउँथ्यो। तर पछि मन्त्रालयबाट बजेट आउन छाडेपछि शैलेश्वरी मन्दिर व्यवस्थापन समितिले आफैं जुटाउँदै आएको छ।’

पुजारी भट्टकै भनाइमा विसं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा तत्कालीन डोटी राज्य नेपालमा गाभिएपछि पुष्कर शाहको पालादेखि डोटी गौडाको तर्फबाट बडीमालिकामा पेटारो पठाउने प्रचलन सुरु भएको मानिन्छ।

बडीमालिका पूजा यात्राका लागि डोटीको सरकारी टोलीको औपचारिक सुरुवात श्रावण औँसीको अघिल्लो दिनबाटै हुन्छ। शैलेश्वरीका पुजारी भट्टका अनुसार पेटारो बडीमालिका पठाउने दिन शिलगढीमा आराधनाका साथसाथै विशेष उत्सवका रूपमा मनाउने प्रचलन छ। सरकारी पूजा टोलीको यात्रा प्रतिपदाका दिनदेखि सुरु हुन्छ, जसको मार्ग र बासस्थान पूर्वनिर्धारित हुन्छ।

दीपायलबाट ल्याइएको भुरुणीसहित श्रावण प्रतिपदाका दिन बिहान शिलगढी क्षेत्रका बासिन्दा र सरकारी निकायले पूजा सामग्री जिल्ला प्रशासन कार्यालयमा भेला गर्छन्। ‘प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र पुजारीले प्रशासन परिसरमै विशेष पूजाअर्चना र सलामी गर्छन्,’ डोटीबाट पटकपटक पूजा टोलीको नेतृत्व गर्दै आएका हाल जिल्ला कारागार कार्यालय डोटीका प्रमुख लालबहादुर बोगटी भन्छन्, ‘त्यसपछि टोली नजिकैको शैलेश्वरी मन्दिरतर्फ लाग्छ। शैलेश्वरीमा तयार पारिएको पेटारोको विशेष पूजा सम्पन्न भएपछि टोली नाचन्थलीस्थित मालिका मन्दिरमा पुग्छ, जहाँ सुरक्षा अधिकारीहरूको उपस्थितिमै सोही परम्पराअनुसार पूजा गरिन्छ। नाचन्थलीमा पूजाअर्चनापछि अन्ततः पूजा टोली बडीमालिकाको १५ दिने यात्रातर्फ अघि बढ्छ।’

यसपालि साउन २८ मा पूजा टोली सिलगढीबाट प्रस्थान गर्ने तयारी रहेको पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए।

पैदलै पन्ध्र दिनको बडीमालिका तीर्थयात्रा

बोगटीका अनुसार डोटीको सरकारी टोलीको बडीमालिकासम्मको तीर्थयात्रा पूरा पन्ध्र दिन लामो हुन्छ। यात्रीहरू गाडी नचढी पैदलै हिँड्छन् र सदियौँदेखि निश्चित हुँदै आएका स्थानमा बास बस्दै, पूजा गर्दै अघि बढ्छन्।

पहिलो दिन टोली डोटीकै फुलौट अर्थात् हालको खिरसैनमा बास बस्छ। ‘पहिलापहिला फुलौटको झान्नाउला माण्डौँमा बास बस्ने र स्थानीयवासीले खीर खुवाउने चलन थियो, तर अहिले खिरसैनमै बास बसिन्छ,’ बोगटीले भने।

गत वर्षको यात्रा अनुभव सुनाउँदै बोगटी भन्छन्, दोस्रो दिन बिहानै फुलौटबाट हिँडेको टोली साँझसम्ममा डोटीकै काँडामाण्डौँ पुग्छ, जहाँ अमरसिंह थापाले निर्माण गराएको अखण्ड दीप बलिरहेको मालिका मन्दिरमा बास बस्छ। त्यहाँ पनि बडीमालिकाकै गुठी जग्गामा फलेको तिलको तेल र जौ पनि पठाउने चलन रहेको बोगटी बताउँछन्।

तेस्रो दिन पूजा टोली अछामको श्रीकोटस्थित जाल्पादेवीमा बसेर पूजाअर्चना गर्छ। चौथो दिन बिहान अछामकै वैद्यनाथ धाममा पूजा सम्पन्न गरेपछि त्यहाँबाट धानका बाला लिएर टोली अघि बढ्ने प्रचलन छ। त्यो राति साँफेबगर नजिकैको भण्डारी गाउँमा बास बस्छ।

पूजा टोली पाँचौँ दिन बिहान अछामस्थित विमकोटे राजाको दरबार पुग्छ (जुन अहिले सम्बन्धित गाउँपालिकालाई हस्तान्तरण भइसकेको छ)। त्यहाँ पूजा टोलीको सम्पूर्ण व्यवस्थापन पनि विमकोटले नै गर्दै आएको बोगटीले बताए। त्यो राति जाब्लामा बास बसेर मष्टो देवताको पूजा गर्ने चलन छ।

जाब्लाबाट छैटौँ दिन बिहान प्रस्थान गरेको टोली त्यो साँझ बाजुराको छतारास्थित लवाडुंग्रा पुग्छ। ‘यात्राको त्यो दिन सबैभन्दा लामो दूरीको हिँडाइ हुन्छ,’ बोगटी भन्छन्, ‘सप्तमी, अष्टमी र नवमी गरी तीन दिन लवाडुंग्रामै बास हुन्छ।’

दशौँ दिन लवाडुंग्रामा तयार पारिएको पर्गलो (लिंगो) लिएर टोली अघि बढ्छ र त्यस दिन खलामा बास बस्छ। त्यहाँ तयार गरिएको अर्को पर्गलो लिएर एघारौँ दिन भिति हुँदै गतेमाईमा पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ। ‘त्यो दिन यात्राको दोस्रो लामो र कठिन यात्रा हुन्छ,’ बोगटी भन्छन्।

बाह्रौँ दिन टोली बडीमालिका क्षेत्रकै त्रिवेणी धाम पुग्छ, जहाँ डोटीको सरकारी टोलीले लिएको पेटारो र जुम्लाको सरकारी टोलीले चन्दननाथबाट ल्याएको डोलीबीच ऐतिहासिक भेट हुन्छ। त्रिवेणीमा विशेष पूजा सम्पन्न भएपछि तेह्रौँ दिन बिहान टोली बडीमालिका मन्दिरतर्फ प्रस्थान गर्छ। त्रयोदशीको रात बडीमालिका मन्दिर परिसरमै बास बस्छ।

चतुर्दशीको बिहान बडीमालिका मन्दिरमा मुख्य पूजा हुने परम्परा रहेको बडीमालिकाका पुजारी नेत्रराज पाध्याले बताए। पूर्वनिर्धारित समयभित्र सरकारी टोलीबाट पहिलो पूजा हुने परम्परा छ। पूजा सम्पन्न भएपछि मध्यान्ह १२ बजेसम्म सबै तीर्थालु भक्तजन बडीमालिकाबाट फर्किसक्छन्।

त्यसै दिन टोली बाजुराको त्रिवेणी नगरपालिकास्थित नाटेश्वरी मन्दिरमा पुगेर बास बस्छ। जनैपूर्णिमाका दिन नाटेश्वरीमा पूजा सम्पन्न गरेर सोही दिन टोली शिलगढीतर्फ फर्किन्छ। नाटेश्वरीमा पूजा सम्पन्न गरिसकेपछि मात्र पूजा टोलीले सवारीसाधन प्रयोग गर्न पाउने चलन छ। पन्ध्रौँ दिनमा पूजा टोली शिलगढी आइपुग्छ।

‘वर्ष दिनको पर्खाइपछि बडीमालिका पूजाको पन्ध्रदिने पैदलयात्रा डोटी गौडादेखि बडीमालिकासम्म फैलिएको आस्था, इतिहास र परम्पराको एउटा जीवन्त मन्त्र हो,’ पेटारो पठाउने कार्यमा ६० वर्षदेखि संलग्न शैलेश्वरीका पुजारी प्रेमशंकर भट्ट भन्छन्, ‘यो परम्परा त सनातनकालदेखि चल्दै आएको राज्यस्तरकै एउटा महत्त्वपूर्ण अनुष्ठान हो।’

पूजा टोलीमा संलग्न हुने व्यक्तिहरू र अन्य खटनपटन डोटी जिल्ला प्रशासन कार्यालयले गर्दै आएको छ। खर्च व्यवस्थापन भने डोटीका हरेक स्थानीय तहले पालैपालो गर्ने गर्छन्। यसपालि बोगटान–फुड्सिल गाउँपालिकाले खर्च व्यवस्थापन गर्ने निर्णय भएको डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए।

कान्तिपुरबाट