October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । गृहमन्त्री सुधन गुरुङ सुनसरी झरेलगत्तै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका छन्।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लागेका हुन्। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो।

प्रधानमन्त्री शाह निकट स्रोतले दिएको जानकारीअनुसार आजै सम्बोधन गर्ने तयारी छ । सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।

सुनसरी घटनापछि देशका विभिन्न राजनीतिक दल, सुरक्षा निकाय र सरोकारवालाबीच छलफल तीव्र भइरहेका बेला प्रधानमन्त्रीको सम्बोधनलाई सरकारको औपचारिक धारणा र आगामी कदम सार्वजनिक गर्ने अवसरका रूपमा हेरिएको छ।