आज देशभरका अस्पतालमा ओपिडी बन्द, आकस्मिक सेवामात्रै सञ्चालन हुने

काठमाडौँ : नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।
चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हो ।
संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।
सोही घटनाका दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ता भइरहेको समयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा बल प्रयोग गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको भन्दै संघले यस घटनाको घोर भर्त्सना गरेको छ।






प्रतिकृया दिनुहोस्