गुडिरहेको कारमा एक्कासि आगो लाग्दा चालकको मृत्यु

काठमाडौँ : काठमाडौंको कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी भएको छ। कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले दिएको जानकारी अनुसार मंगलबार ट्याङ्लाफाँटको चाँदनी चोक नजिकै गुडिरहेको बा ५ च ३०३८ नम्बरको किया कारमा आगलागी भएको हो।
कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको एसएसपी घिमिरेले भने- उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको छ ।
प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । कार धनीको पहिचान भए पनि चालक र धनी एकै हुन कि होइनन् भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी घिमिरेले जानकारी दिए ।
सेतो रङ्गको किया गाडी चाँदनी चोकमा आएर रोकिएको र सुरुमा गाडीभित्रबाट सानो आगो सल्केको देखिएको प्रत्यक्षदर्शीहरू बताउँछन् । अचानक आगो दन्किएपछि प्रहरी र स्थानीयले अग्निनियन्त्रक यन्त्रहरूको प्रयोग गरेर आगो निभाएका हुन् ।
घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ । गाडीमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन।





प्रतिकृया दिनुहोस्