August 16, 2026, Sunday
२०८३ श्रावण ३१

राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास : अवस्था गम्भीर, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौ : राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् । 

घाइते अवस्थाका उनको प्रहरीले उद्धारगरी उपचारको लागि वीर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाहको प्रयास गरेका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । 

आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेको जानकारी प्राप्त भए पनि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको एसपी भट्टराईले जनाए । एसपी भट्टराईले भने, ‘उनले किन आत्मदाह प्रयास गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

वीर अस्पतालका प्रहरी गणेश चौलागाइँका अनुसार उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ । चौलागाइँले आत्मदाहको प्रयास गर्ने व्यक्ति २५ वर्षे गणेश नेपाली रहेको बताए ।