October 28, 2026, Wednesday
२०८३ कार्तिक १३

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा कांग्रेसले हाल्यो रिट

काठमाडौँ : प्रतिनिधिसभा नियमावलीविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट पेस हालेको छ । प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र राष्ट्रियसभाका सचेतक पदम परियारले उक्त रिट दायर गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन र विशेषाधिकारका रूपमा लागु हुने व्यवस्था गैरसंवैधानिक रहेको दाबीसहित रिट दायर गरिएको काग्रेसले जनाएको छ ।

सर्वोच्च अदालतमा पेस भएको रिट अध्ययनका लागि राखिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । गत जेठ २१ गते प्रतिनिधिसभाबाट नियमावली पारित भइसकेको थियो । 

नियमावलीमा रहेको दफा २४७ मा तीन वर्षभन्दा बढी कैद सजाय हुने तथा नैतिक पतन हुने फौजदारी कसुरमा अभियोग लागेर थुनामा बसेको सांसदलाई मात्र निलम्बन हुने व्यवस्था गरिएको विषयमा पनि कांग्रेसले प्रश्न उठाएको छ ।