April 24, 2026, Friday
२०८३ बैशाख ११

नयाँ वर्षमा विपद् : १० दिनमै १९ जनाको ज्यान गयो

काठमाडौं । १० दिनमा विपद्का घटनामा परेर देशभर १९ जनाको मृत्यु भएको छ। अरु ६४ जना घाइते भएका छन्।

यही वैशाख १ देखि १० गतेसम्म ३५५ विपद्का घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार यो अवधिमा सबैभन्दा धेरै आगलागीका १८० घटना हुँदा ६ जनाको मृत्यु भएको छ। आगलागीमा परेर अरु २२ जना घाइते भएका छन्। २१० परिवार प्रभावित भएका छन्।  

मृत्युदरको हिसाबले आगलागीपछि हावाहुरीका घटना धेरै छन्। हावाहुरीका २८ घटनामा ४ जनाको मृत्यु हुँदा ७ जना घाइते भएका छन्। १९४ परिवार प्रभावित भएका छन्।  

घटनाको हिसावले कम भएपनि मृत्युदर भने चट्याङमा धेरै छ। चट्याङका ९ वटा घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अरु ४ जना घाइते भएका छन्। यसबाट ९ परिवार प्रभावित भएका छन्। सर्पदशंका १८ घटना भएकोमा एक जनाको मृत्यु भएको छ। १८ परिवार प्रभावित भएको यो घटनामा अरु १८ जना घाइते भएका छन्।

डुङ्गा पल्टेर दुई जनाको मृत्यु भएको छ भने जनावर आक्रमण, पहिरो र लेक लागेर १ १ जनाको मृत्यु भएको छ। जनावर आक्रमणमा अरु १२ जना घाइते भएका छन्। जसमा १६ परिवार प्रभावित भएका छन्।