दुवै पक्ष अडानमै, टाढिँदै कांग्रेस एकता

काठमाडौँ : पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधिलाई निरन्तरता दिन थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको छ ।
खड्काको गतिविधिलाई कारबाहीको विषय बनाउन तारामान गुरुङ नेतृत्वको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार बोलाइएको छ । नेता शेखर कोइराला र देउवा समूहभित्रै पनि खड्काको समानान्तर गतिविधिको आलोचना हुन थालेको छ ।
२४ र २५ चैतको भेलापछि खड्काले बोलाएका समानान्तर गतिविधिबाट अलग भएका नेता कोइराला यसबीचमा पार्टी एकताका लागि जुटेका थिए । कोइरालाले देउवा पक्षका नेताहरू नेता मीनेन्द्र रिजाल र संस्थापन पक्षका पूर्वसहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारमार्फत संवाद अघि बढाइरहेका थिए । दुवै पक्षसँग एकताको प्रयास भइरहेका बेला खड्काले कार्यवाहक सभापतिकै हैसियतमा ‘पार्टीको लेटरहेड’ प्रयोग गरेर विज्ञप्ति निकालेपछि संस्थापन पक्ष खड्कामाथि कारबाही गर्ने तहमा उत्रिएको छ भने र कोइराला पक्ष पनि त्यसबाट असन्तुष्ट छ ।
पार्टी सभापति गगन थापाको उपस्थितिमा मंगलबार बिहान बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकले यसअघि गल्ती नदोहोर्याउन चेतावनी दिइसकेपछि पनि पुनरावृत्ति भएको भन्दै पहिलो चरणमा स्पष्टीकरण सोध्नुपर्ने निष्कर्ष निकालेको छ । गत २४ चैतमा अनुशासन समिति बैठकले खड्कालाई लक्षित गर्दै आइन्दा गल्ती नदोहोर्याउन चेतावनी दिएको थियो । ‘कस्तो कारबाही गर्ने, के गर्ने भन्नेबारे अनुशासन समिति स्यायत्त छ, समितिले पक्कै पनि यस विषयमा छलफल गरेर एउटा निर्णय ल्याउनेछ’ महामन्त्री गुरुराज घिमिरेले भने ।
सभापति थापाले पार्टी कार्यालय बाहिर भइरहेको समानान्तर गतिविधि अब सहन नसकिने भन्दै खड्का लक्षित अभिव्यक्ति दिएका छन् । संस्थापन पक्षले अदालतमा विचाराधीन मुद्दाको फैसला नआउँदासम्म निर्वाचन आयोगको निर्णयलाई सबैले स्वीकार गरेर महाधिवेशनमा जानुपर्ने बताउँदै आएको छ ।
‘अनधिकृत रूपमा हुने गतिविधिको एउटा सीमा हुन्छ, सीमाभन्दा बाहिर जानु सहन सक्ने कुरा होइन’ मंगलबार आफ्नै सदस्यता अद्यावधिक गरेर ‘जरा अभियान’ को शुभराम्भ गरेका सभापति थापाले भने, ‘पार्टीलाई मिलाएर लैजाने मेरो जिम्मेवारी र विनम्रतालाई कमजोरी नठानियोस् । हिजो जुन काम जुन समयमा गर्नुपर्ने थियो, त्यो समयमा नभएकाले अहिले ठूलो मूल्य चुकाउनुपरेको छ, अब त्यस्तो गल्ती दोहोरिन दिन्नँ ।’
खड्काले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ को विरोध गर्दै सोमबार विज्ञप्ति निकालेका थिए । कांग्रेसले असोज १६–१९ मा हुने पार्टीको केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर नयाँ वर्षको पहिलो दिनदेखि नै सदस्यता अद्यावधिक गर्ने, निर्वाचनको समीक्षा गर्ने र संगठन सुधारका लागि सामाजिक अभियानमा घुलमिल हुने गरी एकमहिने अभियान सुरु गरेको हो । जसलाई ‘जरा अभियान’ नाम दिइएको छ । अभियानका लागि ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा नै केन्द्रीय प्रतिनिधि पठाइएको छ ।
तत्कालीन कार्यवाहक सभापति खड्काले यसअघि नवीकरण भइसकेको सदस्यताको समेत अद्यावधिक गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । देउवा नेतृत्वको अघिल्लो कार्यसमितिले वैशाख २८–३१ मा १५ औं महाधिवेशन गर्ने तालिका ल्याएको थियो । त्यत्तिबेलै अधिकांश जिल्लाबाट नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको काम अधिकांश जिल्लामा सकिइसकेको अवस्थामा पुनः अद्यावधिक गर्ने कार्यको खड्काले आपत्ति प्रकट गरेका हुन् ।
विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले यसअघिको तालिका संशोधन गर्दै असोज १६–१९ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ । २१ फागुनको निर्वाचनका क्रममा करिब डेढ दर्जन निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको संख्याभन्दा कम मत परेपछि कांग्रेसले सदस्यता शुद्धीकरण गर्नुपर्ने भन्दै अभियान थालेको हो ।
थापाले नवीकरण गर्ने र नयाँ लिन चाहनेजति सबैले सदस्यता पाउने भएकाले यसबाट कोही पनि आत्तिन नपर्ने बताए । अद्यावधिक र नयाँ सदस्य लिने सबैलाई यस पटकदेखि ‘डिजिटल आईडी’ दिने व्यवस्था गरिएको छ । त्यसका लागि सम्बन्धित वडामै गएर अद्यावधिक गर्नुपर्ने नियम बनाइएको छ ।
महामन्त्री घिमिरेले वृद्धावृद्धा, बिरामी, पार्टीको सिनियर कतिपय नेताहरूलाई व्यावहारिक पक्ष हेरेर बसोबास रहेकै स्थानबाट समेत अद्यावधिक गर्न सहजीकरण गरिने बताए । ‘जसले स्वेच्छाले अद्यावधिक गर्नु हुन्न, उहाँहरूको नाम अभिलेखमा हुन्छ, जसले गर्न चाहनुहुन्छ, कसैलाई रोकिँदैन’ उनले भने, ‘लुकेर होइन, खुला रूपमा कति सदस्य कांग्रेसमा हुनुहुन्छ भन्ने कुरा वैधानिक बाटोबाट जाँच्न खोजेको हो । व्यक्तिगत लहड र आवेगमा गरिएको होइन ।’
सदस्यता व्यवस्थित गर्ने अभियानको देउवा पक्षबाट विरोध भएपछि थापाले सक्नेले सहयोग गर्न र नसक्नेले अवरोध नगर्न आग्रह गरे । ‘मैले दौडाएर पार्टीको कामलाई अगाडि लिएर जानुपर्नेछ, अधिवेशन सम्पन्न गराउनुपर्नेछ । पार्टीको अधिवेशनबाट देशभरिको कुरालाई सम्हाल्नुपर्नेछ । नयाँ निर्वाचनका लागि पार्टीलाई तयार गर्नुपर्नेछ । प्रमुख प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्न सक्ने पार्टी बनाउनुपर्नेछ’ थापाले भने, ‘यसमा मलाई सबैको सहयोग चाहिएको छ । कृपया सक्नेले मलाई सहयोग गर्नुहोला । नसक्नेले मलाई डिस्टर्ब नगर्नुहोस् ।’
कोइराला पक्ष खड्काको समानान्तर गतिविधिमा सहभागी हुन छाडेको छ । कोइरालाले पार्टी एकताकै लागि पहल गर्दै आएका छन् । यसअघि कोइराला पक्षसमेत देउवा समूहमा थियो । ‘कार्यवाहक सभापतिको हैसियतमा हुने कुनै पनि समानान्तर गतिविधिमा शेखर पक्षको सहभागिता हुने छैन’ पूर्वसहमहामन्त्री परियारले भने ।
देउवा पक्षमा रहेका नेता श्याम घिमिरेले पार्टी एकताका लागि दुवै पक्ष लचक हुनुपर्ने बताए । सर्वोच्च अदालतले फैसला नदिएसम्म निर्वाचन आयोगले दिएको मान्यताअनुसार थापालाई सभापति मानेर जानुको विकल्प नभएको घिमिरेले बताए । उनले पार्टीभित्र भएका देउवा, शेखर र संस्थापन पक्ष तीनै समूहको एकता आवश्यक भएको बताए । ‘पार्टीलाई एकजुट बनाएर महाधिवेशनमा लैजानुको विकल्प छैन, नत्र पार्टीलाई अझै ठूलो क्षति हुन्छ,’ उनले भने । घिमिरेले समानान्तर गतिविधि चलाएर पार्टीभित्र विभाजन बढाउने काम गर्नु राम्रो नभएको बताए ।
कान्तिपुरबाट





प्रतिकृया दिनुहोस्