July 13, 2026, Monday
२०८३ असार २९

धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने

धनगढी :  धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३ प्रतियोगिता आगामी साउन ८ र ९ गते धनगढीमा आयोजना गर्ने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेशले ‘प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा–२०८३’ प्रतियोगिता साउन ८ र ९ गते धनगढीमा आयोजना गर्ने भएको हो ।

प्रतिष्ठानले धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। प्रतियोगिता एकल लोकदोहोरी गायनमा आधारित रहने आयोजकले जनाएको छ।

प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टका अनुसार प्रतियोगितामा गायक तथा गायिकाले व्यक्तिगत रूपमा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका लागि आवश्यक बाद्यवादन र कोरसको व्यवस्था आयोजकले गर्नेछ। उमेरको कुनै सीमा नराखिएकाले सबै उमेर समूहका इच्छुक कलाकारले सहभागिता जनाउन सक्ने उनले बताए।

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रतिभा भएर पनि विभिन्न कारणले पुरस्कारबाट वञ्चित हुन सक्ने कलाकारलाई प्रोत्साहनस्वरूप विशेष पुरस्कारको समेत व्यवस्था गरिएको अध्यक्ष बिष्टले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्षको समेत सहभागिता रहने तयारी गरिएको छ। प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक कलाकारले एक हजार रुपैयाँ दर्ता शुल्क तिरेर परिचय खुल्ने कागजातसहित नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ। अध्यक्ष बिष्टले दोहोरी साँझहरूले नेपाली लोकगीत संरक्षण, प्रवर्द्धन तथा कलाकारलाई व्यावसायिक रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।

कार्यक्रमको मुख्य प्रायोजक इन्द्रेणी दोहोरी साँझ रहेको छ भने सहआयोजकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कैलाली र कञ्चनपुर शाखा रहेका छन्।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता प्रतियोगिताले सुदूरपश्चिमका लोक प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।