आज बिहानैदेखि वर्षा : भारीदेखि अति भारी वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

धनगढी : शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। विभागका अनुसार सम्भावित वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनु पर्नेछ।
यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्नसक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुनसक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रही पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षासम्म हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
धनगढीमा बिहानैदेखि मुसलधारे वर्षा
कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबार बिहानैदेखि लगातार मुसलधारे वर्षा भइरहेको छ। बिहानदेखि परेको अविरल वर्षाका कारण नगरका विभिन्न होचा क्षेत्रमा पानी जम्न थालेको छ भने जनजीवन प्रभावित हुन थालेको छ। मौसमविद्हरूले शनिबार दिनभर मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएका छन्।
धनगढीको मुख्य बजार क्षेत्र, क्याम्पस रोड, हसनपुर, चटकपुर, शिवनगर, जुगेडा, उत्तरबेहडीलगायतका होचा स्थानमा सडकमा पानी जम्न थालेको स्थानीयले बताएका छन्। केही स्थानमा ढलको निकास प्रभावकारी नहुँदा सडक जलमग्न हुन थालेको छ भने सवारीसाधन सञ्चालनमा समेत कठिनाइ देखिएको छ।
लगातारको वर्षाका कारण मोहना, कान्द्रा र स्थानीय खोलानालाको जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय तथा डुबान जोखिम भएका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। किसानहरूका लागि भने धान रोपाइँपछिको वर्षा लाभदायी मानिए पनि अत्यधिक वर्षा भए खेत डुबानमा पर्न सक्ने चिन्ता बढेको छ।





प्रतिकृया दिनुहोस्