जेनजी आन्दोलन : जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थपियो, प्रतिवेदन चुनावअघि नआउने निश्चित

काठमाडौं : भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिन आयोगको म्याद पुनः २५ दिन थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक म्याद थप गर्ने निर्णय गरेको हो ।
आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधबार सकिँदैछ । सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन ।
गृहमन्त्री अर्यालले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार भदौ २३ र २४ गतेको प्रर्दशनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरिएकाे छ ।’
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानविन गर्न ३ सदस्यीय आयोग गठन गरेको थियो ।
३ महिनाको कार्यादेशसहित गठित सो आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकले एक महिनाको लागि आयोगको म्याद थप गरेको थियो ।
आयोगले आफनो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले पुन: २० दिन आयोगको म्याद थप गरेको थियो । तर दोस्रोपटक थपिएको समयावधि भित्र पनि आयोगले आफनो प्रतिवेदन बुझाउन नसकेपछि पुन: तेस्रोपटक २५ दिन सरकारले म्याद थप गरेको हो ।
म्याद थप भएसँगै अब फागुन २४ सम्ममा आयोगले सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ। फागुन २१ गते हुने निर्वाचनको मतपरिणामसमेत सोही समयमा आइसक्ने आकलन छ।
सरकारले आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ पनि स्वीकृत र नेपाल सरकारको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ।





प्रतिकृया दिनुहोस्