February 3, 2026, Tuesday
२०८२ माघ २०

युवाको विचार र पाकाको अनुभव जोड्ने सेतु बन्न चाहन्छु : आनन्द

मसुरिया : युवाको विचार र वूढापाकाको अनुभवलाई मिलाउने सेतु बन्न चाहेको कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसका उम्मेद्वार गोरबहादुर विष्ट ‘आनन्द’ ले बताएका छन् । आइतबार गौरीगंगा नगरपालिका वडा नम्बर ७ को महादेवामा उम्मेदवारको सम्पर्क कार्यालय उद्घाटनका क्रममा उम्मेदवार आनन्दले सो कुरा बताएका हुन् ।

आनन्दले काग्रेस नेताहरुका अनुभव र युवाहरुका विचारलाई जोडेर कैलाली क्षेत्र नम्बर ४ मा आफूले केही काम गर्न खोजेको बताए । सबै नेता कार्यकर्ता तथा आम मतदाताको मनमा बस्न सक्ने काम गर्ने बताउँदै उनले भने,’मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखेका विकासका मोडेललाई यस क्षेत्रमा पनि लागू गर्न प्रयासरत हुनेछु ।’ गाउँबस्तीका दैनिक जिवनका स-साना कठिनाइ समाधानदेखि ठूला योजनासम्म आफूले गर्न सक्ने उनले बताए ।

यससँगै उम्मेद्वार विष्ट आइतबार पेरहनी, ऐठा गाउँ, शंकरपुर, महादेवा, मनिकापुर, इन्द्रपुर, कैलाशपुर, महदयाल (देउथान), मट्कौना र लिक्माका गाउँबस्ती पुगेर मतदातासँग भेटघाट गरेका छन् ।

उम्मेदवारसँग गाउँघरमा स्थानीय नेता, कार्यकर्ता तथा आम मतदाताको उल्लेख्य सहभागिता रहेको थियो ।