January 22, 2026, Thursday
२०८२ माघ ८

कांग्रेसले राष्ट्रिय सभामा एमालेसँग गरेको सहमति कायमै राख्ने

काठमाडौं : कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग भएको सहमति कायम राखेर जाने भएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले अघिल्लो केन्द्रीय समितिको अविछिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति भएकोले एमालेसँग भएको सहमति कायम राखेर जाने बताएका छन्।

राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनको रुपमा बुझ्न नहुने उनले बताए । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएपछि एमालेसँग भएको सहमति के हुने भन्ने चासो थियो ।

राष्ट्रियसभा निर्वाचन लाई चुनावी गठबन्धनका रूपमा बुझ्नु हुँदैन,’ चालिसेले भने, ‘राष्ट्रिय सभा सदस्यको लागि एमालेसँग गरिएको सहमति कायम राख्छौं ।’

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । त्यसमध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनको ठाउँमा सरकारको सिफारिसमा अर्को व्यक्तिलाई राष्ट्रपतिले नै मनोनित गर्नेछन् ।

बाँकी १८ पदका लागि गत पुस २३ मा मनोनयन भइसकेको छ । निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये कांग्रेस र एमालेले भागवण्डा गरेर क्रमश ९ र ८ सिटमा उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।

सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् ।