April 18, 2026, Saturday
२०८३ बैशाख ५

कांग्रेस विशेष महाधिवेशन: नीति र नेतृत्वसहित ४ विषयमा समूहगत छलफल, देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौँ : नेपाली कांग्रेसको विशेषमहाधिवेशनमा पार्टीको आगामी कार्यदिशा र नेतृत्वका विषयमा छलफल सुरु भएको छ। महाधिवेशनको बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रस्तावहरू पेस गरिएसँगै प्रतिनिधिहरू समूहगत छलफलमा जुटेका हुन्।

प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई ९ वटा समूहमा विभाजन गरिएको छ। ती समूहहरूले मुख्य चारवटा विषयमा केन्द्रित रहेर आफ्ना सुझाव र धारणा राख्नेछन्। छलफलका लागि तय गरिएका विषयहरूमा समसामयिक राजनीति, नीति र नेतृत्व, शासकीय सुधार र विधान संशोधन रहेका छन्।

आज दिउँसोको खानापछिको समूहगत छलफलबाट प्राप्त सुझावहरूलाई महाधिवेशनमा पेस गरिने उनले बताए । संयोजक पोखरेलले महाधिवेशन अझै तीन दिनसम्म लम्बिन सक्ने संकेत गरेका छन्। उनले भने, ‘हामीले प्रस्तावहरू पेस गरिसकेका छौँ, अब समूहगत छलफल र त्यसपछि नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्छ।’

महाधिवेशनको कार्यतालिका अनुसार समूहगत छलफल सकिएपछि उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारी दर्ता, दाबी विरोध र अन्तमा निर्वाचनको प्रक्रियामार्फत नयाँ नेतृत्व र कार्यविधि पारित गरिने तयारी छ।

 संस्थापन पक्षको अनुपस्थिति रहे पनि यो विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ । 

देउवाले बोलाए आकस्मिक बैठक

विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता रहेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहको आकस्मिक बैठक बोलाएका छन् । 

देउवाले सोमबार अपराह्न ३ बजेका लागि महाराजगन्जस्थित निवासमा आकस्मिक बैठक बोलाएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

बैठकमा विशेष महाधिवेशन पक्षधरले बहुमत पुर्‍याएपछि संस्थापन समूहको रणनीति के रहने भन्नेबारे छलफल हुने बताइएको छ ।