एमाले महाधिवेशन : साँझ ८ बजेभित्र टोकन लिनेले मात्र मतदान गर्ने पाउने

काठमाडौँ : नेकपा एमालेको ११औं महाधिवेशनमा साँझ ८ बजेभित्र टोकन लिनेले मात्र मतदान गर्ने पाउने भएका छन् । महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा नेतृत्व चयनका लागि मतदान जारी रहेको छ ।
एमालेको निर्वाचन आयोगका अनुसार अपराह्न सम्म ७ सय मत खसेको छ । मतदान जारी रहँदा एमालेका महासचिवका उम्मेदवार शंकर पोखरेलले ८ बजेभित्र मतदान स्थलभित्र प्रवेश गर्नेको मात्रै मताधिकार पाउने बताएका हुन ।
‘भित्र प्रवेशको समय ८ बजे कायम गरिएको छ । कुपन लिएर मतदानको अधिकार सुरक्षित गरौँ’ उनले भनेका छन् ।
आज (बुधबार) बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका कुल २ हजार २६३ प्रतिनिधि छन् । बिहान अध्यक्षका उम्मेदवार केपी शर्मा ओली, ईश्वर पोखरेल तथा महासचिवका उम्मेदवार शंकर पोखरेललगायतले मतदान गरेर सुरुवात गरेका थिए ।
एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।
बिहानदेखि भइरहेको मतदान क्रममा लामो समयदेखि पर्खनुपरेकाले केही मतदाता बेहोस भएका छन्। मतदान प्रक्रियामा भइरहेको ढिलाइबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही मतदाता बेहोस हुने स्थिति आएको जानकारी दिए।
मतदान सक्न लामो समय लागेकाले तीन-चार जना बेहोस भएको थाहा भएको छ। बेहोस हुने को को हुन् भन्ने पत्रकार सम्मेलनमा जानकारी दिइएन।





प्रतिकृया दिनुहोस्