रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

चितवन भदौ ९(ई-रैवार): शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्।
लामिछानेलाई पाँच लाख, युवाराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ भने अर्का अभियोगी रुकु भन्ने अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्न आदेश दिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिए।
‘लामिछाने र कँडेलले प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म पुडासैनीको आत्महत्या मुद्दाको न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, मुद्दाको अनुसन्धान गरेका प्रहरी, अभियोजन गरेका सरकारी वकिल र न्यायाधीशबारे उनीहरूले टिभिकार्यक्रम फेसबुक लाइभ लगायतका प्रकाशन प्रशारण नगर्नु नगराउनु भनि यो आदेश गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ, ‘उनीहरूदुवैले औषधि उपचारको लागि जानुपर्यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्नेछ।’
पुडासैनी आत्महत्या प्रकरणमा तीन जना विरुद्ध आइतबार चितवन जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो। आइतबार मुद्धा दर्ता भएपछि भने एक अभियोगी अस्मिता कार्कीको मात्र बयान लिने काम सकिएको थियो। सोमबार कार्यालय समय सुरु भएपछि लामिछाने र कँडेलको बयान लिइएको थियो।
थुनछेक बहसमा वादीकोतर्फबाट जिल्ला न्यायधिवक्ता यदुनाथ शर्मा, सहायक न्यायधिवक्ताहरु प्रकाश थापा, सानुबाबु श्रेष्ठ, चितवन बारका निवर्तमान अध्यक्ष गोपिलाल देवकोटा, पुर्व अध्यक्ष राजकुमार श्रेष्ठ, स्वागत नेपालले बहस गरेका थिए। बहसमा आरोपितलाई पाँच वर्ष कैद र पचास हजार रुपैयाँ जरिवानाको माग दाबी गरिएको थियो। लामिछाने र कँडेलको तर्फबाट सुशिल पन्त, चुडामणी सापकोटा, सुनिल पोखरेल, राजु थापा, अस्मिता कार्कीको तर्फबाट छायाँ चन्द, फुलमाया रानाभाट, रामगोपाल श्रेष्ठ, कल्पना उप्रेती लगायतले बहस गरेका थिए।





प्रतिकृया दिनुहोस्