महामन्त्री शर्माको प्रधानमन्त्रीलाई प्रश्न : नेताहरूलाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूलाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई बारामा हुने कार्यक्रममा जान जेनजी युवाहरूले अवरोध गरेपछि सरकारले लगाएको कर्फ्युको विरोध गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जालमा उक्त कुरा लेखेका हुन् ।
शर्माले एमाले चुनावको विपक्षमा उभिएको भएपछि चुनावमा आउन आग्रह गर्नुपर्ने उल्लेख गरेका छन् । आवेगका अभिव्यक्ति दिएमा संयम हुन आग्रह गर्नुपर्ने भएपनि आफ्ना कुरा राख्न हुने भ्रमण संविधान प्रदत्त अधिकार भएकाले रोक्न नमिल्ने शर्माले बताएका छन् ।
‘आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौँ । तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन । त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो,’ शर्माले लेखेका छन् ।
सिमरा घटना जेनजीको भाजना नभइ त्यसको दुरुपयोग भएको शर्माको भनाइ छ । ‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने कसैको भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजीको भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौँ,’ शर्माले लेखेका छन् ।





प्रतिकृया दिनुहोस्